युवा संघ नेपाल विराटनगर महानगर कमिटी अध्यक्ष किरण लामाले आफ्नै घरमा बन्धक बनाएर राखेका अवस्थामा एक युवकलाई मोरङ प्रहरीले उद्धार गरेको छ।
लामाले पाञ्चालीस्थित घरमा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले विराटनगर ८ का नोबल यादवलाई उद्धार गरेको हो। लामाले यादव र उनका अर्का साथीलाई आज (शुक्रबार) दिउँसो घरमा बन्धक बनाएर कुटपिटसमेत गरेका प्रहरीले जनाएको छ।
लामा समूहका कुटपिटबाट घाइते भएका दुईमध्ये एक जना उम्किएर भागेका थिए। उनैले मोरङ प्रहरीलाई घटनाको बारेमा जानकारी दिएपछि प्रहरीले लामाको घर खानतलासी गर्दा बन्धक बनाइएका यादवलाई फेला पारेर उद्धार गरेको थियो।
प्रहरीले यादवको उद्धार गरे पनि शरीर बन्धक बनाउने युवा संघका अध्यक्ष लामालाई पक्राउ गरेको छैन।
राजनीतिक आबद्धताकै कारण मोरङ प्रहरीका प्रमुखले घटनालाई ढाकछोप गर्ने प्रयत्न गरिरहेको पीडित पक्षको आशंका छ।
‘हामीले किरणसँग ५ लाख रूपैयाँ चलाएका थियौं। उनले दिउँसो १२ बजेतिर फोन गरेर घरमा बोलाएपछि हामी गएका थियौं,’ यादवले भने, ‘त्यहाँ पुगेपछि तुरून्त पैसा तिर्नु भनेर घरमै थुनेर राखे। साथीले जिल्लामा खबर गरेपछि हामीलाई प्रहरीले छुटाएर लगेको हो।’
लामाले मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको पनि यादवले बताएका छन्। उनले ५ लाख रूपैयाँ कर्जा लिएको भए पनि १० लाख रूपैयाँ भुक्तानी दिइसकेको उनको भनाइ छ। लामाले थप ५ लाख रूपैयाँ दिन दबाब दिँदै आफूलाई घरमै बन्धक बनाएको उनले बताए।
स्रोतका अनुसार युवा संघका नेता लामाले एमाले नेता पर्शुराम बस्नेतको पैसा मिटरब्याजमा लगानी गर्ने गरेका छन्।
लामाले यसअघि विराटनगरका एक जना पत्रकारलाई कुटपिट गरी यातना दिएको घटना बाहिरिएको थियो।
घटनाको सम्बन्धमा ठाडो उजुरी मात्र परेको भन्दै मोरङ प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाउन आनाकानी गरिरहेको छ। घटना गम्भीर प्रकृतिको नभई सामान्य भएको बताउँदै आएको छ।साभार