तनहुँमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ६३ वर्षीय वृद्ध पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका-८ गणपते बस्ने राम्जी बहादुर थापा क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई ती बालिकालाई लगेर थापाले बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यता दाङमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१४ चौपरीया बस्ने २७ वर्षीय दुर्गा बहादुर चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित धान काट्न गएकी ती महिलालाई चौधरीले जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मलवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।