दाङ । भालुवाङ सवारी दुर्घटनाहरु बढ्न थालेपछि दाङ ट्राफिक प्रहरीले निगरानी बढाएको छ । पूर्व—पश्चिम राजमार्ग क्षेत्रको लमही—भालुवाङ सडक खण्डमा सवारीको संख्या बढेसंगै सडक दुर्घटना समेत बढ्न थालेका छन् । सोही कुरालाई ध्यानमा राखेर दाङ ट्राफिकले अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङ मार्फत जांच गर्न थालेको छ ।
लुम्बिनी प्रदेशको राजधानी कायम भएको दाङ—देउखुरीमा पूर्व-पश्चिम राजमार्गमा द्रुतगतिमा गुड्ने सवारीसाधनमा भालुवाङ ट्राफिक प्रहरी मार्फत कडा निगरानी गरिएको छ । तीब्रगतिमा गुड्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले धमाधम नियन्त्रणमा लिएर कार्वाही थालेको छ । तीब्रगतिमा गुडेका सवारी साधन दुर्घटनामा पर्न थालेपछि दुर्घटना न्यूनीकरण गर्ने मनशायले राजमार्गमा तीब्रगतिमा गुड्ने सवारी साधनमाथि भालुवाङ ट्राफिक प्रहरीले कडाइका साथमा जांच गर्न थालेको छ ।
सवारीसाधनको गति जाँच गर्ने लेजर गन मेसिन अर्थात् राडार गन मार्फत सवारी साधनको गति नाप्न थालिएको जिल्ला ट्राफिक कार्यालय दाङका कार्यालय प्रमुख राजेश शाहीले जानकारी दिएका छन् । राजमार्गमा तीब्रगतिमा गुड्ने सवारी साधनकै कारण दुर्घटना बढिरहेको तितो यथार्थ उल्लेख गर्दै दाङ ट्राफिक प्रहरी प्रमुख शाहीले दुईपांग्रे र चारपांग्रे सवारी साधनको गति बढी हुने भएकाले ती सवारीसाधन माथि निगरानी गर्न शुरु गरिएको बताए ।
यसका साथै द्रुतगतिमा हुइँकिने गाडीलाई कार्वाही गर्ने योजनाका साथमा दोस्रो र तेस्रोदिन शुक्रबार शनिबार पूर्व-पश्चिम राजमार्गको लमही—भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका वडा नम्बर ३, मसुरियामा राडर गनबाट सवारी साधनको गति नाप्ने अभियानलाई तीब्रता दिइएको छ ।
कार्यक्रमको दोस्रो र तेस्रोदिन भालुवाङ ट्राफिक प्रहरीले सरकारीदेखि सार्वजनिक र निजी सवारी साधनको गति नापेर जरिवाना गरेको जिल्ला ट्राफिक प्रहरी दाङका प्रमुख राजेश शाहीले मोबाइल फोन मार्फत अवगत गराएका छन् ।
शाहीले बताए अनुसार सरकारी स्कारपियो ३ वटा, निजी ७ वटा सार्वजनिक बस, ३ वटा सार्वजनिक जीप र १७ वटा निजी मोटरसाइकल समेतका सवारीसाधनले तीब्रगतिमा गाडी चलाएको हुनाले कार्वाही गरिएको जिल्ला ट्राफिक प्रमुख शाहीले उल्लेख गरेका छन् ।
पूर्वपश्चिम राजमार्गमा प्रतिघण्टा ६० किलोमिटरभन्दा अधिक गतिमा गाडी चलाएको कसूरमा पहिलो चरणमा ट्राफिक नियम अनुसार प्रति गाडी एक हजारका दरले जरिवाना गरी आवश्यक सल्लाह दिएर छोडिएको शाहीले बताएका छन् ।
राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारी साधनलाई कारवाही गरिएको छ । सवारी साधन ६० किलोमिटर प्रतिघण्टा भन्दा बढीको दरले हुइँकिने गरेका छन् । दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित हाललाई पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा अभियान केन्द्रित छ ।