१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

बारा कलैया यातायात व्यवस्था कार्यालय लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार,

Logo
ABC (भन्डाफोर) प्रकाशित बुधबार, पुष ०२, २०८२

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्।

कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप सार्वजनिक भएका छन्। सरकारी कार्यालयलाई निजी कमाइको अखडा बनाइएको आरोपले कलैया यातायात कार्यालय यतिबेला संकटको केन्द्रमा परेको छ।

लिखित–ट्रायल परीक्षामा अस्वाभाविक पास प्रतिशत

२०८२ मंसिर २५ गते सम्पन्न लिखित परीक्षामा अस्वाभाविक रूपमा ठूलो संख्यामा परीक्षार्थी पास गराइएपछि जिल्ला प्रशासन कार्यालय बाराको ध्यानाकर्षण भएको थियो। त्यसको भोलिपल्ट मंसिर २६ गते प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले ट्रायल परीक्षास्थलको सीसीटीभी फुटेज नियन्त्रणमा लिएर अध्ययन गरेको छ।

प्रशासन स्रोतका अनुसार संकलित प्रमाणमा करिब १०० प्रतिशत परीक्षार्थी पास भएको देखिन्छ, जुन नियम र अभ्यासविपरीत हो। सामान्यतया ट्रायल परीक्षामा २५ प्रतिशत हाराहारी मात्र पास हुने प्रचलन रहँदै आएको छ। सीसीटीभी फुटेजमा धेरै परीक्षार्थीलाई नियम मिच्दै ‘सुटिङ’ शैलीमा पास गराइएको देखिएको प्रशासन स्रोतको दाबी छ।

अख्तियार प्रवेश गरेपछि सेटिङ भत्कियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली कार्यालयमा प्रवेश गरेपछि लिखित तथा ट्रायल परीक्षामा एकाएक ठूलो संख्यामा परीक्षार्थी फेल हुन थालेका छन्। यसले यसअघि परीक्षामा चल्दै आएको सेटिङ र लेनदेनको गम्भीर आशंका थप बलियो बनाएको छ।

पीडित सेवाग्राहीहरूका अनुसार कार्यालय प्रमुख दास र उनका करारमा कार्यरत दुवै भाइ भिखारी दास र बिकेश दासले पैसा लिएर पास गराइदिने आश्वासन दिँदै लामो समयदेखि अवैध असुली गर्दै आएका थिए।

एक सेवाग्राहीले सञ्चारकर्मीहरूसँग भने, “हामीबाट पैसा लिइयो, तर अख्तियार आयो भनेर बहाना बनाएर जानाजानी फेल गराइयो।” पीडितहरूको दाबी अनुसार दासका भाइहरूले पैसा फिर्ता नहुने तर अर्को लटमा पास गराइदिने भन्दै पुनः आश्वासन दिइरहेका छन्।

कार्यालयभित्रै कर्मचारीमाथि कुटपिट

भ्रष्टाचारको आरोपसँगै कार्यालय प्रमुख दासमाथि कर्मचारीमाथि कुटपिट गरेको अर्को गम्भीर आरोप पनि बाहिर आएको छ। आज भन्दा करिब १८ दिन पहिला साँझ करिब साढे पाँच बजे कार्यालयमै खरिदार सत्यनारायण साहमाथि कुटपिट गरिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।

प्रत्यक्षदर्शीका अनुसार हालैको सरुवाप्रति आक्रोश व्यक्त गर्दै दासले “तेरो कारणले मेरो सरुवा भयो” भन्दै साहमाथि हातपात गरेका थिए। आरोप अनुसार दासले आफ्ना दुवै भाइसँग मिलेर गुन्डा शैलीमा योजनाबद्ध आक्रमण गरेका थिए। घटनामा साह गम्भीर घाइते भएका छन् भने कार्यालय प्रमुख दासलाई सामान्य चोट लागेको बताइएको छ।

पहिले पनि कुटपिटकै कारण सरुवा भएको आरोप

कार्यालय प्रमुख दास यसअघि गौर यातायात कार्यालयमा रहँदा पनि कुटपिट र दादागिरीकै कारण सरुवा भएको आरोप लाग्दै आएको छ। बारामा पनि सरकारी कार्यालयभित्र खुलेआम सत्ता, शक्ति र पहुँचको दुरुपयोग भएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका छन्।

निष्पक्ष छानबिन र कडा कारबाहीको माग

सरकारी सेवा प्रवाह हुने कार्यालयलाई आतंक, भ्रष्टाचार र अवैध असुलीको केन्द्र बनाइएको आरोप लगाउँदै कर्मचारी तथा सेवाग्राहीहरूले अख्तियारमार्फत निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

यस घटनाले सार्वजनिक पदमा बसेकाहरूले शक्ति र पहुँच दुरुपयोग गर्दा त्यसको असर कति गम्भीर हुन्छ भन्ने कुरा पुनः उजागर गरेको छ। अब अख्तियारको अनुसन्धानले कलैया यातायात कार्यालयमा वर्षौँदेखि चल्दै आएको कथित सेटिङको पर्दाफास गर्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनास्थित नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाइने भएको छ । नागेश्वर महादेव पार्वती मन्दिरको एघारौँ साधारणसभा एवं चौथो अधिवेशनले नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाउनको लागि विशेष अभियान चलाउने निर्णय गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरूले धार्मिक र प्राकृतिक […]

error: Content is protected !!