काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन ।
मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । एकाध कोही अपवाद हुनसक्छन् । बिरामी भएका मान्छेलाई ठिक बनाउन र मान्छेलाई बिरामी हुनै नदिनका लागि संसारमा ठूलो धनराशी खर्च भइरहेको छ । करोडौंको संख्यामा जनशक्तिहरू त्यसमा खटिएका छन् ।
मान्छेलाई बिरामी बनाउने मुख्य कारकहरू के-के हुन त ?
संसारमा मान्छेलाई बिरामी बनाउने हजारौँ कारण हुन सक्छन् । धेरैलाई देखिने समस्याको अनुपातका आधारमा हेर्दा मान्छेलाई बिरामी बनाउने केही मुख्य कारक छन् ।
१.वंशाणुगत/जन्मजात कारण
कतिपय मान्छे जन्मदेखि नै रोग लिएर आएको हुन्छ । बुबाआमाको वंशाणुगत समस्याहरू बच्चामा सर्दा यसले जन्मजात रोग निम्त्याइरहेको हुन्छ । क्यान्सर, मधुमेह वा मुटुरोग भएका आमाबुबाबाट जन्मिएका व्यक्तिमा त्यसको जोखिम बढी हुन्छ ।
कतिपयको जन्मदेखि नै रोगसँग लड्ने क्षमता कमजाेर हुन्छ । रोगसँग लड्ने क्षमता हाम्रो सेता रक्तकोषमा हुन्छ । कुनै-कुनै मान्छेमा जन्मिएदेखि नै सेता रक्तकोषले राम्रोसँग काम नगर्ने हुनसक्छ । कसैकसैको शरीरले रोगसँग लड्ने एन्टिबडी राम्रोसँग उत्पादन गर्न नसक्ने हुन्छ ।
कसैकसैको जन्मिँदै मुटुमा प्वाल परेका हुन्छ । मुटुको कुनै भाग राम्रोसँग विकास नभएको अवस्थामा पनि मान्छेको जन्म हुन्छ । यस्तोमा उनीहरूलाई विभिन्न रोग लाग्ने जोखिम हुन्छ ।
२.हानिकारक सूक्ष्म जीवाणु
केही सूक्ष्म जीवहरू हाम्रो शरीरमा प्रवेश गरी त्यसले बिरामी बनाइरहेको हुन्छ । मान्छेलाई बिरामी बनाउनमा सूक्ष्म जीवहरूको सबैभन्दा धेरै भूमिका हुन्छ ।
मान्छेलाई बिरामी बनाउने सूक्ष्म जीवलाई ४ प्रकारमा विभाजन गरिएको छ, भाइसर, ब्याक्टेरिया, प्रोटोजोआ र फंगी । यी ४ प्रकारका सूक्ष्म जीवाणुले मान्छेलाई बिरामी पारिरहेको हुन्छ ।
भाइरस : भाइरसले लाग्ने रोग अनेकौँ छन् । जस्तो- एन्फ्लुएन्जा, फ्लू, हेपाटाइटिस, जन्डिस, एचआईभी जस्तै थुप्रै रोग भाइरसले गराउँछ । पछिल्लो पटक कोभिड भाइरसले त्यति ठूलो महामारी नै ल्यायो । कतिपय झाडापखाला पनि भाइरसकै कारण हुन्छ ।
ब्याक्टेरिया : अब ब्याक्टेरियाको कुरा गर्दा धेरैलाई हुने समस्या भनेको निमोनिया, टाइफाइड, मेनेन्जाइटिस हो । ब्याक्टेरियाले झाडापखाला पनि गराउँछ ।
प्रोटोजोआ : प्रोटोजोआले सबैभन्दा धेरै गराउने स्वास्थ्य समस्या भनेको पेटमा हो । यसले झाडापखाला गराउँछ । यौन रोग पनि गराउँछ । ट्रिकोमोनास भन्ने जीवाणुले यौनरोग निम्त्याउछ । यो प्रोटोजोआ समूहमा पर्छ ।
फंगी : फंगीबाट देखिन मुख्य समस्या भनेको दाद हो । रोगसँग लड्ने क्षमता राम्रो भएका व्यक्तिमा यसले खासै असर गर्दैन । गम्भीर बिरामी र रोगसँग लड्ने शक्ति नभएका व्यक्तिलाई भने यसले बिरामी बनाउन सक्छ ।
३.रोग प्रतिरोधात्मक क्षमतामा कमी
रोग प्रतिरोधी क्षमताको कुरा गर्दा हाम्रो शरीरमा हुने सेता रक्तकोषको बारेमा बुझ्नु जरुरी हुन्छ । शरीरको रोगप्रतिरोधी क्षमता बन्नमा यसको विशेष भूमिका हुन्छ । यदि हाम्रो शरीरमा सोता रक्तकोष कम भएमा र यसले रोगसँग लड्न एन्टिबडी बनाउन नसकेमा मान्छेलाई धेरै रोग लाग्न सक्छ।
समान्यतया सेता रक्तकोष कम भएमा बाहिरबाट शरीरमा राख्न मिल्छ । एन्टिबडी पनि राख्न मिल्छ । वंशाणुगत रुपमै सेता रक्तकोष कम भएमा बाहिरबाट शरीरमा राख्दा पनि उपचार नै नहुने खालका समस्या पनि हुन्छन् ।
सेता रक्तकोषको एउटा काम भनेको आफैँले गएर शरीरमा प्रवेश गरेका हानिकारक सूक्ष्म जीवाणुहरूलाई मार्छ । अर्को ती जीवाणुविरुद्ध लड्न एन्टीबडी पनि उत्पादन गर्छ । हाम्रो शरीरमा रहेका लिम्फ नोड्स ग्रन्थीहरूले पनि रोगसँग लड्न भूमिका खेलेका हुन्छन् ।
सेता रक्तकोषको प्रभाव र एन्टिबडी उत्पादन क्षमता सबैमा एकै नहुन सक्छ । यस कारण कमजोर रोगप्रतिरोधी क्षमता पनि मान्छेलाई बिरामी बनाइरहने एक मुख्य कारण हो।