दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ ।
प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् । थारु समुदाय आफ्नो मौलिक कला र संस्कृतिमा धनी भएपनि युवा पुस्तामा यसको प्रभावकारी हस्तान्तरण हुन नसकेको आचार्यले उल्लेख पुष्टि गरे ।
`थारु समुदायको पहिचान यसको कला, संस्कृति, सभ्यता, संस्कार र भाषाले नै थारू समुदायको पहिचान निर्धारण हुनेमा उनले औंल्याए । त्यसैले यी र यस्ता मूल्य मान्यताहरु पुस्तान्तरण गर्न समुदायबाटै विशेष जोड दिन आवश्यक रहेको दाबी गरे ।
प्रदेश सरकारले संस्कृति संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम अघि बढाएको मुख्यमन्त्री आचार्यले जानकारी गराए । आचार्यको भनाइ अनुसार वडघर सम्बन्धी ऐन मन्त्रिपरिषदबाट पारित भई प्रदेश सभामा पेश गर्ने तयारीमा रहेको छ । परम्परागत कला तथा संस्कृतिको संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पनि प्रदेश सरकारले प्राथमिकता दिएको उनलेे सुझाव दिए ।
कार्यक्रम सञ्चालन गर्दा थारू बाहुल्य जिल्लालाई लक्षित गरेर समुदाय केन्द्रित गरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले मुक्त कमैया र कम्लहरीको सिप अभिवृद्धि तथा उच्च शिक्षाका लागि सहयोगका कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराए ।
थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोध सिंह थारुको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले कार्यक्रममा थारु समुदायको उत्थान, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रदेश सरकारले बजेटको आकारअनुसार सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेशभित्रका कम्लहरीका लागि उच्च शिक्षाका लागि सहायता, छात्रवृत्ति, सिकलसेल रोगको उपचार सहयोगलाई थारूले नियमित कार्यक्रमका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
सोही अनुसार कार्यक्रममा भुइयाँर थान निर्माण, बडघर संस्कृतिको संरक्षण तथा थारु भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउनुपर्ने विषयमा पनि जोड दिइएको थियो । थारु सभ्यताको संरक्षण प्रज्ञा प्रतिष्ठानमार्फत अघि बढाउने तयारीसमेत रहेको जनाइएको छ ।
पत्रकार सन्तोष दहितले थारु समुदायसँग सम्बन्धित विषयवस्तुमाथि कार्यक्रममा प्रकाश पारेका थिए । कार्यक्रममा थारु समुदायका अगुवाहरुकाे उल्लेखनीय रहेको सहभागीता थियाे ।