काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्।
सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित केहि हलुका सवारी साधन सफलतापूर्वक सञ्चालन गरिएको’ जनाएको छ।
हाल बाँकी रहेको सडक स्तरोन्नति तथा सुरक्षाका कार्यहरू जारी रहेकाले सडक खुला नगरिएको पनि विभागले स्पष्ट पारेको छ।
यो सडक आगामी असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष रहेको विभागले जनाएको छ।
कृष्णभीर खण्डबाट सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द रहने भन्दै यस अवधिमा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा वैकल्पिक मार्गसम्बन्धी निर्देशन पालना ग गर्न पनि सडक विभागले सबैसँग अनुरोध गरेको छ।
भदौ १० र १४ गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीको कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सडक विभागले १५ दिनपछि सडकको ट्रयाक खोल्न सफल भएको हो।