१० आषाढ २०८१, आइतबार
23-06-2024 , Sun
×

बाराको अस्पतालमा औषधी पनि छैन डाक्टर पनि छैन बिरामीहरु आउने जाने खाली हात

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ ०२, २०८१

(ABC-Sanchar)
बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ ।

पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च र समय उस्तै लाग्छ । कलैया अस्पतालमा आकस्मिक सेवा बाहेकका ओपीडी सेवाको रसिद काट्ने समय १२ बजेपछि सकिन्छ भने २ बजेपछि डाक्टर भेटिँदैनन् ।

प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु भए पनि उपचारका लागि आएका बिरामीहरू औषधि नपाउने र डाक्टरसमेत भेट नहुँदा चेकजाँच नगराइ घर फर्कन बाध्य भएको गुनासो गर्दछन् ।

‘डाक्टरहरू ११ बजे अस्पतालमा आउनुहुन्छ, १२ देखि १ बजेसम्म चेकजाँच गर्नुहुन्छ र जानुहुन्छ । हामी अलिकति ढिलो भयो भने उपचार नगरी फर्कनुपर्छ,’ रामनरेश यादवले भने, ‘अर्को दिन फेरि अस्पताल आउजाउ गर्न ५ सय रुपैयाँ खर्च हुन्छ । अस्पतालले कम्तीमा २ बजेसम्म रसिद काट्ने समय राख्नुपर्‍यो । हामी गाउँबाट आउँदा ११ बज्छ । लामो लाइनमा कुर्दाकुर्दै स्वास्थ्य बीमाकर्ताहरूको रसिद काटिँदैन । त्यत्तिकै फर्कनु पर्छ ।’

महागढीमाई नगरपालिकाकी बीमा सहजकर्ता सुधा यादवले २५० परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गराइसकेकी छन् । उनले अधिकांश बिमितले कलैया अस्पतालबाट औषधि र उपचार दुवै नपाएको गुनासो आएको बताइन् ।

‘कलैया अस्पतालमा कुनै औषधि पाइँदैन भन्ने गुनासो छ, सबै औषधि बाहिर पैसा तिरेर किन्नुपर्छ । भिडियो एक्सरे पनि बाहिरबाट गरेर ल्याउन भन्नुहुन्छ,’ यादवले भनिन्, ‘गाउँको स्वास्थ्य केन्द्रबाट यहाँ रिफर भएका बिरामीहरू यहाँ आउँदा २ बजेपछि डाक्टर भेट्दैनन्, चेकजाँच हुँदैन । औषधि पनि १÷२ वटामात्रै पाउँछ, बाँकी सबै बाहिर पैसा तिरेर किन्नुपर्छ ।’

सरकारले २०७७ सालदेखि बारा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको हो । जिल्लाका १६ वटा पालिका अन्तर्गत रहेका स्वास्थ्य संस्था र कलैया अस्पतालमा बीमा कार्यक्रम लागु छ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत मुटु, मिर्गौला, सुगर, उच्च रक्तचाप लगायतका दीर्घरोग, भिडियो एक्सरे, ल्याबसहित १ हजारभन्दा बढी प्रकारका औषधि निःशुल्क पाइन्छ । तर कलैया अस्पतालमा भने सामान्य रुघाखोखीको समेत औषधि नपाएकोे स्वास्थ्य बीमा कार्यक्रम बारा जिल्लाका प्रमुख रमेश खनियाँको आरोप छ ।

 

‘स्वास्थ्य बीमा कार्यक्रम अरु जिल्लामा धेरै राम्रो छ तर बारा जिल्लामा खत्तमै छ, यहाँ अस्पतालबाट न सेवा पाइन्छ, न डाक्टर भेटिन्छ । एउटा सिटामोलसमेत पाइँदैन,’ खनियाँले भने, ‘कलैया प्रादेशिक अस्पताल यस्तो पनि हुन्छ ! यहाँ अस्पताल सुधार्न बोलिदिने जनप्रतिनिधि, दलका नेता कोही छैनन्, सबैलाई राजनीतिमात्रै गर्नुछ ।’

खनियाँले अस्पतालमा पहुँच भएका केही सीमित राजनीतिक दलका नेता, कार्यकर्ता, कर्मचारी र जनप्रतिनिधिहरूले मात्रै सेवा पाएको तर ज्येष्ठ नागरिक, विपन्न महिला तथा बालबालिकाले कुनै सेवा सुविधा नपाएको बताए ।

कलैया उपमहानगर वडा नं २ का वडासदस्य अख्तर हुसेनले कलैया अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु भए पनि कुनै सेवा नपाएको बताए । ‘स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत धेरै औषधि निःशुल्क पाइन्छ भन्छन् तर मैले आजसम्म कुनै औषधि पाएको छैन,’ हुसेनले भने, ‘यो एकदमै नराम्रो कुरा हो, म सुगरको बिरामी हो । आजसम्म अस्पतालबाट औषधि पाएको छैन । सधैँ चर्को मूल्य तिरेर बाहिर किनेर खानुपर्छ ।’

कलैया अस्पतालमा बारा जिल्लाको सबैभन्दा पुरानो र ठुलो अस्पताल हो । यहाँ आकस्मिक सेवाबाहेक ओपीडी सेवा लिनमात्रै दैनिक ५ सयभन्दा धेरै बिरामी आउँछन् । जसमा ६० प्रतिशतभन्दा धेरै बीमित भएको अस्पताल प्रशासनले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बारा जिल्लामा ३ हजार बढी परिवार जोडिएका छन् भने करिब २ हजार लक्षित वर्ग (ज्येष्ठ नागरिक, अति विपन्न, अपाङ्ग, स्वास्थ्य स्वयंसेविका) आवद्ध छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च र […]

  (ABC-Sanchar) तनहुँ । करिब दुई महिनाअघिदेखि फैलिएको डेँगी दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार मात्रै तनहुँमा १८२ जना नयाँ डेँगी सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जिल्लामा सोमबारसम्म ६ हजार ४८४ जना डेँगी सङ्क्रमित रहेकोमा वृद्धि भई ६ हजार ६६६ जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले […]

  (ABC-Sanchar) बझाङ । सदरमुकाम चैनपुरमा रहेको न्यू चैन मेडिकलले सरकारबाट प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको अनुमतिविना औषधी बिक्रीवितरण गर्ने गरेको खुलेको छ। आइतबार दिउँसो सुजन हेयर कटिङ पसलबाट लागुऔषध र पसल सञ्चालक पक्राउ गरेसँगै उक्त जानकारी प्रहरीले पाएको हो। सुजन हेयर कटिङ सेन्टरका सञ्चालक सुर्जन धामीले प्रहरीसँगको बयानका क्रममा चैन मेडिकलले ट्रामाडोल लगायतका लागुऔषध बिक्री […]