२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

बर्दियामा जताततै बाघको आतङ् कायमै,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०७, २०८२

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ।

त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्।

बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, गोला, पशुपतिनगर क्षेत्रमा यतिखेर बाघले आतङ्क मच्चाएको स्थानीयको भनाइ छ। ‘दुई महिनायता मात्र धेरैका गाई, भैँसी र बाख्रा बाघले खाएको छ भने केही दिनअघि मात्र घोठियामा एक जनाको बाघको आक्रमणबाट ज्यान गएको छ’, गेरुवा–४ तीनघरुवाकी नम्रता खनालले भनिन्, ‘गोठमै आएर बाख्रा खान थालेपछि मानिसमा त्रास बढ्नु स्वभाविकै हो।’

बिहीबार मात्र तीन घरुवामा एकजनाको गोठमा बाख्रा खायो र भैँसीको कान चिथोरेको खनालले बताइन्। ‘बाघ गहुँ खेतीमा लुकेर बसेको छ की भन्ने डरले दिउँसो पनि हिँड्न गाह्रो छ’, खनालले भनिन्, ‘साँझ ६÷७ बजे गाउँमा हिँडडुल गर्न सकिँदैन, साँझ आफन्तकहाँ गएर ढोका खोलाउन गाह्रो हुन्छ।’

स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तारबारलगायत अन्य उपाय गर्दै आएका थिए। स्थानीयको प्रयास असफल भएपछि उनीहरु निकुञ्ज र सरकारप्रति आक्रोशित भएका छन्। बाघको आतङ्क बढेपछि स्थानीय महिलाको समूहले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन्। ज्यानको सुरक्षा गर भन्दै स्थानीय महिला गाउँपालिकाको कार्यालयमा घेराउ गर्न गएको स्थानीय भरतबहादुर स्वाँरले बताए। ‘बाली हेर्न र लगाएको आलु लिन गाउँ गएको थिए, डरले दुई रात पनि गाउँ बस्न सकिएन’, स्वाँरले भने, ‘६/७ बजे घरभित्र पसिहाल्नुपर्दाे रहेछ। रातभर बत्ती बालेर त्रासमा रात काँटे।’

कति घरपालुवा जनावर बाघले खायो यकिन नभए पनि एक महिनामा धेरै नोक्सान गरेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह कडातले बताए। गाउँपालिकाले १८ देखि २० किलोमिटर तारबार गर्न लागेको अध्यक्ष कडायतले जानकारी दिए। ‘गाउँपालिकाले यसअघि गरेको दुई किलोमिटर तारबार प्रभावकारी भएकाले निकुञ्ज र गाउँपालिका मिलेर थप तारबार लगाउने योजना बनाएका छौँ’, अध्यक्ष कडायत भन्छन्, ‘वन्यजन्तुबाट गाउँमा हुने नोक्सान रोक्न यस वर्ष गाउँपालिकाले रु डेढ करोड बजेट खर्च गर्न लागेको छ।’

निकुञ्जसँग जोडिएको सीमा करिब ३५ किलोमिटर भए पनि यसपटक १८ देखि २० किलोमिटरमा काम हुने भएको छ। यति क्षेत्रमा तारबार भएपछि धेरै राहत हुने स्थानीयको भनाइ छ। वन्यजन्तुले घरपालुवा जनावर मारे गाउँपालिकाले राहत रकम दिने गरेको छ भने निकुञ्जले पनि केही रकम दिँदै आएको छ। गाउँपालिकाले भैँसीका लागि रु १० हजार, गाई गोरु र बाख्राका लागि रु पाँच हजार राहत दिने गरेको छ।

बाघको आक्रमणबाट बर्दियामा चालु आर्थिक वर्षको अहिलेसम्म आठको मृत्यु भइसकेको तथ्याङ्क प्रहरीसँग छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले पछिल्लो पटक मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बुधबार बाघले आक्रमण गरी ज्यान लिएपछि मृत्यु हुनेको सङ्ख्या आठ पुगेको उनले बताए। साथै, हात्तीको आक्रमणबाट एक दर्जनले ज्यान गुमाएको स्थानीयको भनाइ छ। त्यसक्षेत्रमा समूह बनाएर वन्यजन्तु नियन्त्रण कार्यक्रम हुने गरेका छन्। यस्ता कार्यक्रममा निकुञ्जले सहयोग गर्दै आएको छ।  रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]