प्युठान । सरुमारानी गाउँपालिकाको सरकारी गाडी कार्यालय समयपछि पनि नियमित रूपमा गाउँपालिका अध्यक्ष झगबहादुर विकको घर पुग्ने गरेको छ। अध्यक्षलाई सरुमारानी–३ कास्कोटस्थित निवासमा पुर्याएपछि लु.प्र. ०२–००१ झ ०००४ नम्बरको गाडी कार्यालय फर्काइँदैन। चालक देवीराम चर्तीले गाडी कार्यालयबाट करिब ८ किलोमिटर टाढा रहेको आफ्नै घरमा लगेर पार्किङ गर्ने गरेका छन्।
गाउँपालिकाका केही कर्मचारीले कार्यालयका मोटरसाइकल पनि कार्यालय परिसरमा नराखी १०–१२ किलोमिटर टाढा रहेका आफ्ना डेरामा लैजाने गरेका छन्। गाउँपालिका कार्यालयले पनि जनप्रतिनिधि र कर्मचारीले कार्यालय समयपछी पनि घर वा डेरा सम्म मोटरसाईकल र गाडी लैजाने गरेको स्वीकार गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले सरकारी सवारी कार्यालय परिसरमै राख्न पटक–पटक निर्देशन दिए पनि त्यसको पालना भएको छैन।
सरुमारानी गाउँपालिकाले स्थापना भएयता दुईवटा सरकारी गाडी खरिद गरेको छ। तर कार्यालय समयपछि पनि सरकारी सवारी पदाधिकारी र कर्मचारीका घरमा पुग्ने अभ्यास रोकिएको छैन। श्रोत कामना डेली