१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

राप्तीमा समुदायमा आधारित रोग निगरानी सम्बन्धी अभिमुखीकरण

Logo
तुलबहादुर कवँर मगर प्रकाशित बुधबार, आषाढ १७, २०८३

दाङ । मसुरिया राप्ती गाउँपालिकाले जनप्रतिनिधि तथा सरोकारवालाहरूका लागि समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरेको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा समुदायस्तरमा देखापर्ने सरुवा तथा नसर्ने रोगहरूको समयमै पहिचान, सूचना संकलन, प्रतिवेदन तथा प्रतिकार्य प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले रोग निगरानीका चरण, यसको महत्त्व, प्रतिकार्यको अवधारणा तथा नेपालमा सञ्चालनमा रहेको रोग निगरानी प्रणाली लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले समुदायमा देखिने विभिन्न रोगका लक्षण पहिचान, शंकास्पद बिरामीको विवरण संकलन, स्वास्थ्य संस्थामा समयमै सूचना प्रवाह गर्ने प्रक्रिया तथा रोग नियन्त्रण र रोकथामका उपायबारे जानकारी गराउनुभयो।
उहाँले महामारी तथा प्रकोपजन्य रोगहरूको प्रारम्भिक सूचना व्यवस्थापनमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। समयमै सूचना प्राप्त हुन सके रोग फैलिन नदिन, जोखिम न्यूनीकरण गर्न तथा आवश्यक प्रतिकार्यका कामलाई प्रभावकारी बनाउन सहज हुने उहाँको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले समुदायमा आधारित रोग निगरानी प्रणाली स्वास्थ्य क्षेत्रको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले कुनै पनि महामारीजन्य वा प्रकोपजन्य रोगको नियन्त्रणका लागि समयमै सूचना प्राप्त हुनु सबैभन्दा महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै समुदायबाट प्राप्त सूचनाले रोगको अवस्था पहिचान, विश्लेषण तथा व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताउनुभयो।

अध्यक्ष विष्टले पछिल्लो समय प्रविधिको विकाससँगै रोग निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउन अनलाइन रिपोर्टिङ प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार समुदायबाट संकलित सूचना स्थानीय तह हुँदै प्रदेश र संघीय सरकारसम्म तत्काल पुग्ने भएकाले रोगको अवस्था बारे तीनै तहका सरकार समयमै जानकार हुनेछन्। यसले आवश्यक निर्णय लिन, स्रोतसाधन परिचालन गर्न तथा महामारी फैलिनुअघि नै रोकथाम र नियन्त्रणका उपाय अवलम्बन गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो।
उहाँले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायबीचको समन्वय बलियो भएमा रोग निगरानी प्रणाली अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै स्वास्थ्यसम्बन्धी कुनै पनि असामान्य घटना वा रोगका लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो।

स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार समुदायस्तरमै रोगको प्रारम्भिक संकेत पहिचान गरी सम्बन्धित निकायमा तत्काल जानकारी गराउने क्षमताको विकास गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि राखिएका सडक डिभाइडर नै चोरी हुन थालेका छन्। केही व्यक्तिहरूले रातिको समयमा कारमा हालेर डिभाइडर चोरेर लैजाने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी बढाएको छ र यस्तो कार्य नगर्न सुझाव दिएको छ। सडक सुरक्षाका लागि राखिएका संरचना चोर्नु आफैंमा गम्भीर लापरबाही र कानुन विपरित कार्य भएको […]

  धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट […]

  काठमाडौं । माइक्रोको छतमा पाठो राखेको विषयमा रास्वपा सांसद आशिका तामाङसँगको भेटपछि भाइरल बनेका सह-चालक नारायण थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले भनेका छन् – > “म पनि पुरुष मान्छे हुँ, उहाँ महिला हुनुहुन्छ। उहाँले त्यसरी गाली गर्दा मलाई पनि रिस उठ्न सक्थ्यो। मैले पनि उहाँले जस्तै जवाफ फर्काएको भए त्यहाँ झगडा हुन […]