दाङ । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको आउँदो असोज १० गते हुन लागेको निर्वाचनमा व्यवसायी अनिल आचार्यको नेतृत्वमा स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवारी दिने भएको छ। व्यवसायीहरूको हक, हित, अधिकार र व्यावसायिक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आचार्य नेतृत्वको प्यानल निर्वाचनमा होमिन लागेको जनाएको छ।
स्वतन्त्र व्यावसायिक प्यानलको वरिष्ठ उपाध्यक्षमा गेहेन्द्र बस्नेत, उद्योग उपाध्यक्षमा मित्रदेव अधिकारी, वाणिज्य उपाध्यक्षमा ऋषिराज शर्मा, महासचिवमा सालीक खनाल, सचिवमा ललित बेलबासे, कोषाध्यक्षमा अर्जुन पन्थी तथा सह–कोषाध्यक्षमा गणेश पाण्डे रहेका छन्। कार्यसमिति सदस्यका रूपमा पनि विभिन्न क्षेत्र र व्यवसायको प्रतिनिधित्व गर्ने व्यवसायीहरू रहने प्यानलले जनाएको छ।
प्यानलका नेतृत्वकर्ता अनिल आचार्यले दाङको व्यावसायिक क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउन आफूहरू विशेष योजना तथा स्पष्ट एजेन्डासहित निर्वाचनमा सहभागी हुन लागेको बताउनुभयो। उहाँले उद्योगी तथा व्यवसायीका समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण, स्थानीय उत्पादनको प्रवर्द्धन, उद्योग तथा व्यापार क्षेत्रको विस्तार र व्यवसायीको अधिकार संरक्षणलाई आफ्नो प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो।
“दाङको उद्योग तथा व्यापार क्षेत्रलाई नयाँ ऊर्जा र व्यवस्थित नेतृत्वको आवश्यकता छ,” आचार्यले भन्नुभयो, “हामी कुनै व्यक्ति वा समूहको स्वार्थका लागि होइन, समग्र व्यवसायी समुदायको हक, हित र भविष्यका लागि स्वतन्त्र व्यावसायिक टिमका रूपमा निर्वाचनमा आएका हौँ।”
उहाँले दाङमा रहेका साना, मझौला तथा ठूला व्यवसायीबीच सहकार्य र एकताको वातावरण निर्माण गर्दै उद्योग वाणिज्य सङ्घलाई सबै व्यवसायीको साझा र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्वतन्त्र व्यावसायिक प्यानलले राजनीतिक प्रभावभन्दा माथि उठेर व्यवसायीको वास्तविक समस्या, आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर काम गर्ने जनाएको छ। आगामी निर्वाचनमा आफ्नो प्यानलले व्यवसायी समुदायको विश्वास र समर्थन प्राप्त गर्ने आचार्य नेतृत्वको टिमले विश्वास व्यक्त गरेको छ।