०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

रौतहटमा प्रहरी चौकीमा ढुंगामुढा र आगजनी प्रयासपछि गोलि चलेयो

Logo
प्रकाशित आइतबार, फाल्गुण २९, २०७८


ABC (क्राईमबिट)
रौतहट । भारतीय नम्बर प्लेटको गाडीले एक महिलासहित आधा दर्जन बाख्रालाई ठहरै बनाएपछि रौतहटमा शनिबारदेखि देखिएको तनाव आइतबार साँझदेखि साम्य भएको छ।

रौतहटको गुजरा नगरपालिका ४ सिम्रिक गाउँ जाने बाटोको भित्री सडक खण्डमा जंगल क्षेत्रमा शनिबार दिउँसो भारतीय नम्बर प्लेटको गाडीले स्थानीय एक महिलालाई ठक्कर दिएको थियो। बिआर ०५ पिए ५००० नम्बरको स्कारपिओ गाडीले गुजरा नगरपालिका ६ की ४० वर्षीया गीता चौधरीलाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। बाख्रा गोठालो गएकी चौधरीसँगै ६ वटा बाख्रा पनि गाडीले कुल्चिएर घटनास्थलमै मृत्यु भएको थियो।

अत्यधिक मदिरा पिएर रौतहटको यमुनामाई गाउँपालिका ४ मलिनिया टोलका ४० वर्षीय नाजिर अन्सारीले जथाभावी गाडी चलाउँदा जनधनको क्षति भएको बताउँदै आक्रोशित स्थानीयवासीले भारतीय गाडीमा तोडफोड गर्दै आगजनी गरेका थिए। स्थानीयवासीले आइतबार पनि प्रहरी चौकी घेराउ गर्न पुगेका थिए।

सवारी चालकलाई उचित कारबाही गर्नुपर्ने तथा घटनाको क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आइतबार स्थानीय हरिनगर प्रहरी चौकीमा आक्रोशित स्थानीयवासीले नाराबाजी गर्दै ढुंगामुढा प्रहार गरेका छन्। करिब चार सयको संख्यामा रहेका आक्रोशित स्थानीयवासीले प्रहरी चौकीमा आगजनीको प्रयास पनि गरेको प्रहरीको भनाइ छ।

प्रहरी र प्रहरी चौकीमाथि आक्रमण भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गर्नुका साथै हवाई फायर गरेको छ। मृतक महिलाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेको समूहले प्रहरी चौकीमाथि आक्रमण गर्नुका साथै आक्रोशित समूहले प्रहरी चौकीलाई चारैतिरबाट घेरा हाली आगजनीको प्रयास गरेपछि भीडलाई तितरबितर पार्न बाध्य भएर प्रहरीले फायर खोल्नु परेको प्रहरीको भनाइ छ।

प्रहरीको सामान्य बल प्रयोगले स्थिति नियन्त्रणमा आउन नसक्दा फायर खोलेर सर्वसाधारणलाई कुनै क्षति हुन नदिई स्थितिलाई आइतबार साँझ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपि लिलाराज लामिछानेले जानकारी गराएका छन्।

भीडलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले ४ राउन्ड हवाई फायर र ५ राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ। यसैगरी, सशस्त्र प्रहरीले ७ राउन्ड हवाई फायर र ५ राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ। आइतबार साँझदेखिस्थिति पूर्णतया नियन्त्रणमा आइसकेको डिएसपि लामिछानेको भनाइ छ।

आक्रोशित स्थानीवासीले प्रहार गरेको ढुंगा लागेर नेपाल प्रहरीका सई प्रभु साहको टाउकोमा सामान्य चोट लागेको र असई राजेन्द्रप्रसाद मण्डलको खुट्टामा सामान्य चोट लागेको डिएसपि लामिछानेले बताए। घट्नामा प्रहरी हवल्दार सरोज कुर्मीको हात र खुट्टामा चोट लाग्नुका साथै प्रहरी जवानहरु रामकुमार यादव र शसीकुमार चौधरी पनि घाइते भएका छन्। यसैगरी, सशस्त्र प्रहरीतर्फ हवल्दार सुकबहादुर गोले र जवानबिक्रम श्रेष्ठ घाइते भएका छन्।

आक्रोशित स्थानीयले प्रहरी चौकीको कम्पाउण्डभित्र रहेको प्रतिक्षालयको टालीको छानोमा आगो लगाएका थिए। स्थानीयले प्रहार गरेको ढुंगा लागेर चौकीको झ्यालको सिसा फुटेको छ। काठको कुर्सी, चौकीको बोर्ड, शौचालयको ठूलो पाइपमा क्षति पुगेको छ। यसैगरी, इलाका प्रहरी कार्यालय देबाहीको ना १ झ ६५३ नम्बरको गाडीमा पनि क्षति पुगेको छ। स्थानीयले सशस्त्र प्रहरीको ना १ झ७२६ नम्बरको गाडीको साइडलाइट र पछाडिको बत्ती पनि फुटाएका छन्।

यसैबीच आन्दोलनकारी र प्रहरीबीच सहमति भएको खबर छ। गाडी चालक अन्सारीलाई उचित कारबाही गर्ने तथा पीडितलाई उचित क्षतिपूर्ति दिने सहमति भएको बुझिएको छ। सहमतिपछि आन्दोलन साम्य भएको हो।

घट्नास्थलमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र जिल्ला प्रहरी प्रमुख एसपि बिनोद घिमिरे समेत पुगेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

error: Content is protected !!