१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

सेवानिबृत्त हुन लाग्नु भएका IGP खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ

Logo
प्रकाशित मंगलबार, माघ २८, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं माघ २८ तीस बर्ष सेवा अवधि पुरा गरी सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायव महानिरीक्षकहरुलाई मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकालमा १० बुँदे सांगठनिक प्राथमिकता तय गरी कार्यान्वयनमा ल्याएको, समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत ७ सय ५३ स्थानीय तहसँग सम्झौता गरेको र यस कार्यक्रमलाई राष्ट्रिय योजना आयोगले ‘गेम चेन्जर प्रोजेक्ट’ का रुपमा परिभाषित गरेको, भ्रष्टाचार विरुद्ध अभियान संचालन गरेको, विगत २ वर्षदेखि बेरुजु फर्छौटमा गृह प्रशासन अन्तर्गतका कार्यालयहरुमध्ये सर्वोत्कृष्ट ठहर भई पुरष्कृत भएको, १ सय ५८ वटा प्रहरी कार्यालय भवन निर्माण सम्पन्न तथा १ सय २२ निर्माणाधिन लगायतका काम भएको चर्चा गर्नुभयो । अन्तर्राष्ट्रिय क्षेत्रीय आतंकवाद र संगठित अपराध रोक्न कतारी प्रहरीसँग सम्झौता, विदेश फरार रहेका नेपाली अपराधीलाई ईन्टरपोलको सहायतामा फिर्ता ल्याएको उल्लेख गर्दै उहाँले नेपालको शान्ति सुरक्षाको स्थिति मजबुत हुँदै गएको एक स्वतन्त्र अध्ययन प्रतिवेदनले देखाएको बताउनुभयो ।
नेपालमा आयोजना भएका अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीको छवि उँचो बनाएको उहाँले उल्लेख गर्नुभयो । संगठनमा हरेक कुरामा प्रणालीको विकास गरी सांगठनिक क्रियाकलापहरु स्थापित प्रणाली बमोजिम संचालन गर्ने, सामुहिक निर्णय गर्ने अभ्यासलाई संस्थागत गर्ने, संगठनका कार्यलाई पारदर्शी बनाउने, सही मूल्याङ्कन पद्धतिको विकास गर्ने तथा कर्मचारीको बृत्ति विकास गर्ने कुरामा जोड दिई हरेक सदस्यहरुमा संगठनप्रति अपनत्व र एक आपसमा भाइचाराको भावना बढाउने कुरामा प्राथमिकतामा राखेर आफूले काम गरेको उहाँले बताउनुभयो ।
अबको नेतृत्व ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा प्रहरी संगठनलाई थप नयाँ उचाई दिनुहुने विश्वास उहाँले व्यक्त गर्नुभयो । संगठनमा देखिएका बाह्य तथा आन्तरिक चुनौतिहरुलाई चिर्दै जानुपर्ने सुझाव दिंदै प्रहरी महानिरीक्षक खनालले संगठनको यश वृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको र हरेक प्रहरी कर्मचारीले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतले राष्ट्र, जनता र संगठनप्रति पुर्याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीकोतर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खनालको व्यावसायिक इमानदारिता, निर्भिकता, नेतृत्व क्षमता र सादा जीवनबारे प्रहरी कर्मचारीहरु स्पष्ट रहेको उल्लेख गर्दै उहाँले प्रहरीको व्यावसायिक जीवनमा उहाँको कार्यशैली र निष्ठा अनुकरणीय रहेको चर्चा गर्नुभयो ।
संगठनमा बहाल रहँदा र सेवानिवृत्त भएपछि पनि संगठनको सफलता र गरिमा हामी सबैको चासोको विषय हुने भएकाले संस्थागत हितका लागि आगामी दिनमा सल्लाह र सुझावको अपेक्षा रहेको बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा सुरु भएको समुदाय-प्रहरी साझेदारी कार्यक्रम ज्यादै प्रभावकारी रहेको बताउनुभयो । प्रहरी कार्यमा आम-सहभागिता र समुदायको सुरक्षा सचेतना अभिवृद्धिका लागि परम्परागत प्रहरी परिचालनको अवधारणालाई आमुल परिवर्तन गरी देशभर लागू भएको उक्त कार्यक्रम नेपाल प्रहरीका लागि कोसेढुङगा सावित भएको उल्लेख गर्दै उहाँले सो कार्यक्रमको निरन्तरता दिँदै तिनका नयाँ आयामहरु पहिचान गरेर कार्यान्वयन गर्ने उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक खनालसँगै सेवानिबृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत तथा प्रहरी नायव महानिरीक्षकहरु मनोज न्यौपाने, सुरेश बिक्रम शाह, केदार रिजाल, शेर बहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायण सिंह खड्का, कमल बहादुर जिटी, महेन्द्र कुमार पोखरेल, दान सिंह बोहोरा, राम प्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकाश श्रेष्ठ, पूर्ण चन्द्र जोशी, हरिभक्त प्रजापति र राजेन्द्र मान श्रेष्ठ रहनुभएको छ ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले उहाँहरुलाई हार्दिक बिदाइ गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

error: Content is protected !!