२९ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

नयाँ प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्हबाट सुशोभित

Logo
प्रकाशित बुधबार, माघ २९, २०७६

सागर थापा (क्राईमरिपोर्टर)
काठमाडौं माघ २९ नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार माघ २९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ठाकुर प्रसाद ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ ।
नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा बुधबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गर्नुभएको हो ।
सुशोभन समारोहमा गृहसचिव न्यौपानेले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै कार्यकाल सफलताको कामना गर्नुभयो ।
उक्त अवसरमा गृहसचिव न्यौपानेले दर्ज्यानी चिन्ह सुशोभन पश्चात प्रहरी महानिरीक्षक ज्ञवालीले व्यक्त गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै प्रहरी संगठनलाई अझ उच्च मनोबलयुक्त र सक्षम संगठनको रुपमा विकास गर्न सम्पूर्ण लगन, मेहनत, तत्परता, ईमानदारिता, कार्यकुशलता र क्रियाशीलता वहन गर्ने अपेक्षा रहेको बताउनुभयो ।
नेपाल प्रहरीका सबै सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई अझ उत्प्रेरित गर्नुपर्ने, व्यावसायिक बनाउनुपर्ने, अपराध र विध्वसांत्मक गतिविधि नियन्त्रण गर्न अझ सक्रिय हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै गृहसचिव न्यौपानेले मानवअधिकारको सम्मान लगायत न्यूनतम मानवोचित विषयबस्तुलाई समेत केन्द्रविन्दुमा राख्दै सबै सुरक्षा निकायहरुवीच सूचनाको आदान प्रदान, समन्वय एवम् सहकार्य सहित अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
गृहसचिव न्यौपानेले सुखी नेपाली, सम्बृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सम्पूर्ण सुरक्षा निकायले अझ बढी चनाखो भई लाग्नुपर्ने चर्चा गर्दै नेपाल प्रहरी संगठनलाई सुधार गर्दै सधै चुस्त राख्नका लागि गृह मन्त्रालय सदैव सक्रियरुपमा क्रियाशील रहेको बताउनुभयो । व्यक्ति केन्द्रित प्रतिस्पर्धा भन्दा पनि व्यावसायिकतातर्फ ध्यान दिन उपस्थित प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्नुभयो ।
नेपाल प्रहरी नेपालको संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकको नैसर्गिक हक अधिकारको संरक्षण गर्न दृढसंकल्पित रहेको उल्लेख गर्दै प्रहरी महनिरीक्षक ज्ञवालीले अवाञ्छित, ध्वंसात्मक र संविधान विपरितका गतिविधिलाई पूर्ण नियन्त्रण, निस्तेज गरी कानुनको दायरामा ल्याउन नेपाल प्रहरी दृढ रहेको बताउनुभयो ।
नेपाल प्रहरी जस्तोसुकै चुनौतिमा पनि उच्च व्यावसायिक धर्म र उच्च मनोबलकासाथ कर्तव्यपथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सबै दर्जा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी व्यावसायिक र पारदर्शी तवरबाट सम्पादन हुने उल्लेख गर्दै गृह मन्त्रालयले तय गरेको मार्गदर्शनमा रही उत्कृष्ट संगठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गराउन सक्रिय रहने दृढता उहाँले व्यक्त गर्नुभयो । नेपाल प्रहरीको सांगठनिक सुदृढिकरण र कर्मचारीको वृत्तिविकासमा थप जोड दिनु आजको आवश्यकता रहेको बताउँदै शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आगामी दिनमा सरोकारवाला निकायहरुको मार्गनिर्देशन, सद्भाव र सहकार्य रहिरहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले गृह मन्त्रालयमा बुधबार आयोजित समारोहमा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात बुधबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक ज्ञवाली प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गर्नुभएको थियो ।
स्वागत पश्चात प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी प्रधान कार्यालय परिसरस्थित मन्दिरमा पूजाअर्चना गर्नुका साथै अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
विसं २०२२ असोज २८ गते प्युठानमा जन्म भई २०४७ असार २५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गर्नु भएका प्रहरी महानिरीक्षक ज्ञवाली २०५८ बैशाख १८ गते प्रहरी नायव उपरीक्षक, २०६६ मंसिर ३ गते प्रहरी उपरीक्षक, २०७३ असार २८ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।
समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक ज्ञवालीले विभिन्न ३३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक ज्ञवाली दुर्गम सेवा पदक, गद्दी आरोहण रजत पदक, संयुक्त राष्ट्रसंघ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, प्रवल जनसेवाश्री पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत दर्जनौ नगद पुरस्कार तथा प्रशंसापत्र समेत प्राप्त गर्नुभएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । यहाँ एकपछि अर्को मेडिकल स्टोर खुलिरहेका छन्। यहाँ लाइसेन्सको कुनै अर्थ छैन। सेल्समेनको योग्यताको पनि कुनै मतलब छैन। उच्च भाडा र मोटो रकम तिरेर मानिसहरू मेडिकल स्टोर खोलिरहेका छन्। यहाँ ग्राहकको कमी छैन। लागूपदार्थको लतमा फसेका युवाहरू अरु युवालाई पनि लागूपदार्थ खुवाएर आफ्नो समूह बढाइरहेका छन्। मुख्य रूपमा बिक्री हुने लागूपदार्थमा नशालु औषधि, […]

सर्लाही । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि झुठा मुद्धा लगाएको भन्दै नेता तथा कार्यकर्ताहरूले मलंगवा बजार बन्द गराएका छन्। उनिहरुले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने र प्रहरीले लगाएको झुठा मुद्दा खारेज गर्नुपर्ने माग अघि सारेका हुन्। जसपा मधेश प्रदेश अध्यक्षमाथि लगाइएको मुद्दा फिर्ता नलिए आन्दोलन जारी […]

दाङ । चौपटास्थित श्री महामृत्युञ्जय गोरखनाथ धाम मन्दिर परिसर र घोराही–लमही सडक अन्तर्गत चौपटा क्षेत्रमा महाकाल युवा समूहको टोलीले सरसफाई गर्नुका साथै मन्दिर परिसर र सडक छेउँमा फुल रोपण गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवम् महाकाल युवा समूह घोराहीका सल्लाहकार सविन प्रियासनले फुल रोपण एवम् सरसफाई गरेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो […]

error: Content is protected !!