, दाङ। किर्गिस्तानको इस्सिक–कुल क्षेत्रमा आयोजित ओपन वर्ल्ड हाप्किडो प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै नेपालको गौरव बढाउन सफल घोराही उपमहानगरपालिका–४ बसन्तापुर निवासी खेलाडी बन्दना बस्नेतलाई घोराही बनाऔँ अभियानले सम्मान गरेको छ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको पहिचान स्थापित गर्न सफल बन्दनालाई अभियानले विशेष कार्यक्रम आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको हो। सम्मान कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष सुवेदीको विशेष उपस्थिति रहेको थियो।
घोराहीलाई खेल नगरीका रूपमा विकास गर्दै व्यावसायिक खेल क्षेत्रको हब बनाउने उद्देश्यसहित विभिन्न गतिविधि सञ्चालन गरिरहेको घोराही बनाऔँ अभियानले स्थानीय प्रतिभाको पहिचान, प्रोत्साहन र सम्मान गर्ने अभियानअन्तर्गत बन्दनालाई सम्मान गरेको जनाएको छ।
कार्यक्रममा अभियानका संयोजक सविन प्रियासनले बन्दना बस्नेतको सफलताले घोराहीको गौरव बढाउनुका साथै नयाँ पुस्तालाई खेलकुद क्षेत्रमा अगाडि बढ्न प्रेरणा दिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “घोराहीमा प्रतिभाको कुनै कमी छैन। आवश्यक छ त केवल प्रतिभाको पहिचान, अवसर र प्रोत्साहनको। बन्दना बस्नेतले अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान हासिल गरेर घोराहीको नाम विश्वस्तरमा चिनाउने काम गर्नुभएको छ। उहाँको यो उपलब्धिप्रति हामी गौरवान्वित छौँ। बन्दनाको सफलताले घोराहीका अन्य खेलाडीलाई पनि अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने सपना देख्न र त्यसका लागि मेहनत गर्न प्रेरित गर्नेछ।”
संयोजक प्रियासनले घोराहीलाई खेल नगरी बनाउने अभियान केवल नारामा सीमित नरहेको उल्लेख गर्दै खेलाडीको सम्मान, खेल पूर्वाधारको विकास, प्रशिक्षणको व्यवस्था र खेलकुदलाई व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्न अभियानले निरन्तर पहल गरिरहेको बताउनुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता प्राप्त गर्ने स्थानीय खेलाडीको सम्मानले खेलकुद क्षेत्रको विकासमा सकारात्मक सन्देश दिने धारणा राख्नुभयो। उहाँले खेलाडीको मेहनत, अनुशासन र लगनशीलताको प्रशंसा गर्दै यस्ता प्रतिभालाई परिवार, समाज र राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो।
त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष सुवेदीले बन्दना बस्नेतको सफलताले दाङको खेलकुद क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन सहयोग पुगेको उल्लेख गर्नुभयो। उहाँले खेलाडीका उपलब्धिलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उजागर गर्नुपर्ने र खेलकुदको विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
घोराही बनाऔँ अभियानले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, उद्यमशीलता, कला, साहित्य, संस्कृति र खेलकुदलगायतका क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्दै आएको छ। अभियानले घोराहीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने वातावरण निर्माण गर्न खेलकुद क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
बन्दना बस्नेतको अन्तर्राष्ट्रिय सफलता र सम्मान कार्यक्रमले घोराहीमा खेलाडीको पहिचान, सम्मान र प्रोत्साहनको वातावरण निर्माण गर्न थप प्रेरणा दिएको छ।