दाङ । महिला सशक्तीकरणको कुरा गर्दा हामी प्रायः महिला शिक्षा, स्वास्थ्य, अधिकार, समानता र रोजगारीका विषयमा चर्चा गर्छौं। महिलालाई आत्मनिर्भर बनाउनुपर्छ, आर्थिक रूपमा सबल बनाउनुपर्छ र समाजको हरेक क्षेत्रमा उनीहरूको सहभागिता बढाउनुपर्छ भन्ने आवाज पनि उठ्दै आएको छ। तर, हाम्रो समाजमा एउटा ठूलो वर्ग यस्तो छ, जसको श्रम र समय परिवार व्यवस्थापनमै खर्च भइरहेको छ। त्यो वर्ग हो– गृहिणी महिला।
गृहिणी महिलाहरूले घरभित्र गर्ने कामको आर्थिक मूल्य बजारमा देखिँदैन। तर उनीहरूले गर्ने कामको महत्त्व परिवार र समाजका लागि अत्यन्त ठूलो छ। बिहान सबेरै उठेर घर सफा गर्ने, खाना पकाउने, बालबालिकाको हेरचाह गर्ने, ज्येष्ठ नागरिकको सेवा गर्ने, परिवारका सदस्यहरूको आवश्यकता पूरा गर्ने र घरको व्यवस्थापन मिलाउने जिम्मेवारी उनीहरूले निर्वाह गरिरहेका हुन्छन्। यी कामलाई सामान्य घरेलु जिम्मेवारीका रूपमा लिइए पनि वास्तवमा यो निरन्तर श्रम, समय र समर्पणसँग जोडिएको काम हो।
म सुशीला शिवाकोटी। मेरो घर घोराही उपमहानगरपालिका वडा नम्बर १५, आनन्द टोल मिलनचोकमा पर्छ। विगत २१ वर्षदेखि म घोराहीमा बस्दै आएकी छु। यस अवधिमा मैले जीवनका विभिन्न अनुभव सँगाल्ने अवसर पाएकी छु। करिब १० वर्ष विद्यालयमा अध्यापन गरेँ। बालबालिकालाई शिक्षा दिने, उनीहरूलाई नयाँनयाँ ज्ञान र सीप सिकाउने तथा उनीहरूको भविष्य निर्माणमा आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रयास गरेँ। शिक्षकका रूपमा काम गर्दा बालबालिकाको सिर्जनात्मक क्षमता विकास र उनीहरूलाई असल नागरिक बनाउने कुरालाई विशेष प्राथमिकता दिने गर्थें।
तर स्वास्थ्यमा केही समस्या आएपछि मैले अध्यापन पेसा छाड्नुपर्यो। पढाउन छाडेको पनि अहिले करिब सात वर्ष हुन लाग्यो। त्यसपछि घरायसी कामधन्दामै मेरो अधिकांश समय बित्न थालेको छ। घरमा बसेर काम गर्दा समय कसरी बित्छ भन्ने कुरा आफैँले अनुभव गरेकी छु। घर सम्हाल्नु पनि सानो जिम्मेवारी होइन। घरभित्रका कामहरू सकिएजस्तो लागे पनि फेरि अर्को काम आइपुग्छ। यसरी दिन बित्छ, महिना बित्छ र वर्षहरू बित्दै जान्छन्।
मलाई लाग्छ, मेरो जस्तै अवस्था धेरै महिलाको हुन सक्छ। कतिपय महिला स्वास्थ्य, पारिवारिक जिम्मेवारी वा अन्य कारणले औपचारिक रोजगारीमा जान सकिरहेका छैनन्। कतिपय महिलाले चाहेर पनि घर छाडेर काम गर्न सक्दैनन्। तर उनीहरूसँग समयको उचित व्यवस्थापन गर्ने, केही नयाँ सिक्ने र घरमै बसेर आयआर्जन गर्ने चाहना तथा क्षमता भने अवश्य हुन्छ।
अहिले हाम्रो देशमा संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकार सञ्चालनमा छन्। सरकारले महिला सशक्तीकरण, सीप विकास, रोजगारी सिर्जना र उद्यमशीलताका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पनि छ। तर यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र व्यवहारमुखी बनाउन आवश्यक छ। विशेषगरी गृहिणी महिलालाई लक्षित गरेर टोलटोलमा उद्यमशीलताका कार्यक्रम सञ्चालन गर्न सकेमा त्यसले ठूलो परिवर्तन ल्याउन सक्छ।
मेरो विचारमा सरकारले गृहिणी महिलाका लागि दैनिक दुईदेखि तीन घण्टासम्म समय दिन सकिने उद्यमशील कामको योजना बनाउनुपर्छ। महिलाले आफ्नो घरायसी जिम्मेवारीलाई निरन्तरता दिँदै फुर्सदको समयमा आम्दानी गर्न सक्ने वातावरण तयार पार्नुपर्छ। यसका लागि टोल विकास संस्थामार्फत महिलाको रुचि, क्षमता र उपलब्ध समय पहिचान गरेर कार्यक्रम सञ्चालन गर्न सकिन्छ।
जस्तैः सिलाइकटाइ, बुनाइ, अचार बनाउने, दुग्धजन्य परिकार उत्पादन गर्ने, अगरबत्ती बनाउने, हस्तकलाका सामग्री तयार गर्ने, तरकारी तथा फूलखेती गर्ने, स्थानीय उत्पादनको प्रशोधन गर्ने, घरेलु खाद्य सामग्री उत्पादन गर्ने र डिजिटल सीप सिकेर अनलाइनमार्फत सेवा दिने जस्ता काममा महिलालाई जोड्न सकिन्छ। यस्ता कामका लागि आवश्यक तालिम, प्रविधि, कच्चा पदार्थ, सहुलियतपूर्ण ऋण र उत्पादित वस्तुको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्छ।
अर्को महत्त्वपूर्ण कुरा, तालिम दिएर मात्रै सरकारको जिम्मेवारी पूरा हुँदैन। तालिमपछि महिलाले उत्पादन गरेका वस्तु बिक्री गर्ने बजारको व्यवस्था पनि हुनुपर्छ। टोलस्तरमा महिला उद्यम समूह गठन गर्ने, उत्पादित सामग्री संकलन तथा बिक्री केन्द्र स्थापना गर्ने र स्थानीय बजारसँग जोड्ने व्यवस्था मिलाउनुपर्छ। यसो गर्न सके महिलाहरूले घरमै बसेर पनि नियमित आम्दानी गर्न सक्छन्।
घोराही उपमहानगरपालिकाले पनि यस विषयलाई प्राथमिकतामा राख्न सक्छ। घोराहीका १९ वटै वडामा रहेका टोल विकास संस्थासँग समन्वय गरेर गृहिणी महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न सकिन्छ। प्रत्येक टोलमा महिलाहरूको समूह बनाएर उनीहरूको रुचिअनुसार सीप विकास, उत्पादन र बजारीकरणको योजना बनाउन सकिन्छ। स्थानीय स्रोतसाधन र कच्चा पदार्थको उपयोग गर्दै साना उद्योग स्थापना गर्न सकिएमा महिलाको आम्दानी बढ्नुका साथै स्थानीय अर्थतन्त्र पनि बलियो बन्नेछ।
यस कार्यक्रमले महिलालाई पैसा कमाउने अवसर मात्रै दिने छैन, उनीहरूको आत्मविश्वास, आत्मसम्मान र सामाजिक सहभागिता पनि बढाउनेछ। आफ्नै सीप र परिश्रमबाट केही आम्दानी गर्न थालेपछि परिवारभित्र आर्थिक निर्णय प्रक्रियामा समेत महिलाको भूमिका बलियो बन्न सक्छ। महिलाले आफ्नो आवश्यकता पूरा गर्न अरूको भर पर्नुपर्ने अवस्था पनि कम हुँदै जान्छ।
यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु– गृहिणी महिलालाई उद्यमशीलतामा जोड्नु भनेको उनीहरूले घरायसी जिम्मेवारी छाड्नुपर्छ भन्ने होइन। घरको जिम्मेवारी महिला र पुरुष दुवैको साझा दायित्व हो। महिलाले घर सम्हाल्दै आर्थिक गतिविधिमा सहभागी हुन पाउने वातावरण बनाउनु राज्य र समाजको दायित्व हो। कार्यालयमा काम गर्ने महिलाले पनि घरपरिवार सम्हालिरहेका छन् भने घरमै रहने महिलाले पनि आफ्नो क्षमता र समयअनुसार आर्थिक गतिविधिमा सहभागी हुन पाउनुपर्छ।
महिलाको श्रमलाई सम्मान गर्ने, उनीहरूको समयको सदुपयोग गर्ने र उनीहरूभित्र रहेको सीप तथा क्षमतालाई उत्पादनसँग जोड्ने नीति आजको आवश्यकता हो।